काठमाडौं :
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तर्जुमा गर्न अर्थमन्त्री बर्षमान पुनले निर्देशन दिएका छन् । अर्थसचिव कृष्णहरि पुष्कर, बजेट लेखन समितिका सहसचिवहरु, राजस्वसचिव रामप्रसाद घिमिरे, मन्त्रालयका सबै महाशाखा प्रमुख, विभागीय प्रमुख तथा महानिर्देशक र उपमहानिर्देशकहरूलाई राखेर शनिबार बजेटको प्राथमिकताबारे सामूहिक निर्देशन दिएका हुन् ।अर्थमन्त्री पुनले आमजनता र सबै सरोकारवालाले स्वामित्व लिन सक्ने खालका कार्यक्रम बजेटमा समेट्न निर्देशन दिए । उत्पादन वृद्धिमार्फत रोजगारी सिर्जना गर्ने, आयात प्रतिस्थापन गरी वैदेशिक व्यापार घाटा कम गर्नेमा आफ्नो जोड रहने बताए । त्यसका लागि उत्पादनमूलक उद्योग प्रवर्द्धनमा लगानी र निर्यात प्रवर्द्धनलाई जोड दिनुपर्ने उनको भनाइ थियो ।पुनले बजेट निर्माण गर्दा सत्तासाझेदार दलहरुबीचको न्यूनतम साझा कार्यक्रमभित्र रही विषयगत मन्त्रालयहरुसँगको समन्वयमा बजेट वक्तव्य तयार पार्न भने । उनले सरकारको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिबीच तालमेल हुनुपर्नेमा जोड दिए । त्यसका लागि सम्बद्ध निकायहरुबीच अन्तरसम्बन्ध स्थापनामा निरन्तर संवाद हुनुपर्ने बताए ।
‘आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन हुने खालको नीति बजेटमा आउनुपर्छ,’ मन्त्री पुनले भने, ‘बजेट विनियोजन गर्दा ‘बहुजन हिताय’ भन्ने मान्यताका आधारमा बढीभन्दा बढी जनतालाई छुने र उनीहरुले स्वामित्व लिन सक्ने हुनुपर्छ भन्ने सम्माननीय प्रधानमन्त्रीज्यूको स्पष्ट निर्देशन छ ।मैले तपाईंहरुलाई भन्ने पनि यही नै हो, पुनले भने