काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट माझी राष्ट्रिय मुक्ति मोर्चा नेपालको दोस्रो राष्ट्रिय सम्मेलन मकवानपुरको बागमती गाउँपालिकामा शनिवार सम्पन्न भएको छ । राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा उर्मिला माझी निर्वाचित भएकी छिन् ।
ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतको प्रमुख आतिथ्ययतामा सम्पन्न राष्ट्रिय सम्मेलनमा पूर्व सभामुख तथा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती विशेष अतिथिको रूपमा उपस्थिति रहेको थियो ।
प्रतिनिधिसभा सदस्य समेत रहेकी माझी यस अघि उक्त मोर्चाको महासचिव थिइन् । मोर्चाको दोस्रो राष्ट्रिय सम्मेलनबाट माझी सर्वसम्मतले अध्यक्ष चयन भएकी हुन् । सम्मेलनबाट उर्मिला माझीको नेतृत्वमा ५५ सदस्यीय केन्द्रीय समिति चयन भएको छ । मोर्चाको महासचिवमा लक्ष्मी माझी चयन भएकी छिन् । उनी यस अघि मोर्चाको केन्द्रीय सचिवालय सदस्य र बागमती गाउँपालिका कार्यपालिका सदस्य रहेकी थिइन् । त्यसैगरी मोर्चाको उपाध्यक्षमा शोभाकुमारी माझी, गोपीलाल माझी र दीपक माझी चयन भएका छन् ।