काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महत्वपूर्ण सचिवालय बैठक आज आइतबार दिउँसो ३:३० बजे काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालय 'घण्टीघर' मा बस्दै छ। पार्टी सभापति रवि लामिछानेले आह्वान गर्नुभएको यस बैठकमा पार्टीको आन्तरिक रणनीति र भविष्यको कार्यदिशाबारे गहन छलफल हुनेछ।
विशेष गरी पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन आगामी महाधिवेशनको तयारीलाई मुख्य एजेन्डा बनाइएको छ।बैठकको प्रमुख कार्यसूचीमा 'जिल्ला अधिवेशन कार्यविधि २०८३' पारित गर्ने र महाधिवेशनका लागि मस्यौदा समिति गठन गर्ने विषय रहेका छन्। प्रवक्ता मनिष झाका अनुसार बैठकले केन्द्रीय आयोग, सल्लाहकार परिषद्, र विभिन्न विभागहरूमा नयाँ सदस्यहरूको मनोनयन गरी साङ्गठनिक संरचनालाई पूर्णता दिने तयारी गरेको छ
। यसका साथै, रास्वपाले दक्ष जनशक्तिलाई पार्टीको नीति निर्माणमा जोड्न ‘विज्ञ तथा योजनाहरूका लागि आह्वान’ गर्ने नयाँ कार्यक्रम पनि ल्याउँदै छ।साङ्गठनिक कामका साथै बैठकमा आर्थिक र संसदीय मामिलामा पनि छलफल हुनेछ। बैंक खाता सञ्चालन, सांसदहरूको जिम्मेवारी बाँडफाँट, र संसदीय दलका लागि लेब निर्धारण जस्ता प्राविधिक विषयहरू कार्यसूचीमा छन्। सहकारी ठगी प्रकरणमा सभापति लामिछानेमाथि भइरहेको छानबिन र राजनीतिक उथलपुथलका बीच बस्न लागेको यो बैठकलाई रास्वपाले आफ्नो सङ्गठन सुदृढ गर्ने अवसरको रूपमा लिएको छ।
