Spread the love
Spread the love
हावाहुरीले सिरहामा लियो ६० वर्षीया वृद्धाको ज्यान, मधेसका अन्य जिल्लामा पनि क्षति
Spread the love

शनिबार साँझ मधेस प्रदेशका विभिन्न जिल्लामा आएको भीषण हावाहुरीका कारण सिरहामा एक वृद्ध महिलाको दुःखद मृत्यु भएको छ। मृत्यु हुनेमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–२ मकरामपुरकी ६० वर्षीया किसुनवती यादव रहनुभएको छ। साँझको समयमा अचानक आएको तीव्र गतिको हावाहुरीले उहाँको घरमा क्षति पुर्‍याउँदा यो घटना घटेको हो।

​घटनाको विवरण अनुसार, हावाहुरीले यादवको घरको जस्तापाता उडाएपछि घरको पर्खाल एक्कासि भत्किएको थियो। पर्खाल भत्किँदा इँटाले टाउकोमा लागेर गम्भीर घाइते हुनुभएकी किसुनवतीको घटनास्थलमै ज्यान गएको प्रहरीले पुष्टि गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता रमेशबहादुर पालका अनुसार प्रहरी टोलीले घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई परीक्षण (पोस्टमार्टम) का लागि अस्पताल पठाएको छ।​यस पटकको हावाहुरीले सिरहा लगायत मधेस प्रदेशका अन्य जिल्लाहरूमा पनि ठुलो क्षति पुर्‍याएको छ|

हावाहुरीका कारण ठाउँ-ठाउँमा बिजुलीका पोलहरू ढल्दा विद्युत सेवा अवरुद्ध भएको छ भने आँपका बगैँचा र अन्य बालीनालीमा पनि व्यापक नोक्सानी पुगेको प्रारम्भिक अनुमान गरिएको छ। प्रहरी र स्थानीय प्रशासनले अहिले जिल्लाभर भएको क्षतिको थप विवरण सङ्कलन गरिरहेका छन्।