Spread the love
Spread the love
मदन भण्डारी लोकमार्गमा खसेको पहिरो वाईसिएलले पन्छायो, यातायात पुनः सुचारु
होक्सेस्थित नाम्जेमा सडक अवरुद्ध हुने गरी खसेको पहिरो वाईसिएलले पन्छाएका हुन्।
Spread the love

निरन्तर वर्षाले उत्पन्न गरेको पहिरो पन्छाउँदै सोमबार बिहान मदन भण्डारी लोकमार्ग पुनः सुचारु गरिएको छ। गाईघाट–मुर्कुची खण्डअन्तर्गत त्रियुगा नगरपालिका–७ होक्सेस्थित नाम्जेमा सडक अवरुद्ध हुने गरी खसेको पहिरो योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल का कार्यकर्ताले पन्छाएका हुन्।

सडक अवरुद्ध भएको जानकारी पाएपछि सदरमुकाम गाईघाटबाट वाईसिएलको टोली घटनास्थल पुगेर ३ घण्टाभन्दा बढी समय लगाएर ठूला ढुंगा फुटाउँदै पहिरो हटाएको माओवादी केन्द्र त्रियुगा नगर कमिटी अध्यक्ष मानबहादुर राईले जानकारी दिए। उनका अनुसार पहिरोका कारण आवागमन रोकिएको र थप पहिरो खस्ने जोखिमले स्थानीयवासी त्रसित थिए।

राईका भनाइमा, ‘स्थानीयबाट सूचना पाएपछि हामीले वाईसिएल टोलीलाई तत्काल घटनास्थल पठायौं। ह्यामर, गैँटी, झम्पल र बेल्चा प्रयोग गरी कार्यकर्ताहरूले सडक सफा गरे र केही समयमा नै सवारी आवागमन सुचारु भयो।

माओवादी निकट युवा संगठन वाईसिएल साउन १ गतेदेखि निरन्तर सामाजिक अभियानमा सक्रिय रहँदै आएको छ। पछिल्ला तीन दिनको अविरल वर्षामा देशभर उद्धार र सहयोग कार्यमा उनीहरू संलग्न रहेको पार्टीले जनाएको छ।

पार्टीका केन्द्रीय संयोजक **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले देशका विभिन्न स्थानमा परेको विपद्‌मा उद्धारका लागि आह्वान गरेपछि वाईसिएल कार्यकर्ता देशव्यापी रूपमा उद्धार अभियानमा जुटेका छन्।

उदयपुरमा समेत वर्षाका कारण विभिन्न ठाउँमा आपतविपत्‌मा परेकाहरूलाई सहयोग र उद्धार कार्य जारी रहेको वाईसिएल जिल्ला समन्वय समिति उदयपुरका संयोजक द्रोण पौडेल (निरज)ले बताए।
उनका अनुसार, ‘केन्द्रीय संयोजक प्रचण्डको निर्देशनअनुसार काठमाडौं उपत्यकामा मात्रै करिब १० हजार वाईसिएल कार्यकर्ता उद्धार कार्यमा परिचालित भएका छन्। उदयपुरमा पनि हामी निरन्तर रुपमा उद्धार र सहयोगमा संलग्न छौं।