काठमाडौं, ११ असोज २०८२ – निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छिन्। अभिभावकहरूको बैठकमा उपस्थित कांग्रेस नेतृ राणाले आफ्नाे राजीनामा जानकारी गराएकी हुन्।
एक अभिभावकले जानकारी दिनुभयो, “विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट उहाँले राजीनामा दिनुभएको जानकारी गराइएको छ। उहाँले काठमाडौं र ललितपुर दुवै स्कूलका लागि यो निर्णय गर्नुभएको छ।”
गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो, जसका कारण विद्यालय पूर्णरूपमा नष्ट भएको थियो। राणाले केवल व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी मात्र सम्हालिरहेकी थिइन्।
स्कुलको भौतिक संरचना जलेर नष्ट भएपछि, युलेन्सले नयाँ ढंगले विद्यालय सञ्चालन गर्ने योजना बनाएको छ। अभिभावक स्रोतका अनुसार अब विद्यालयका ट्रष्टीहरू अभिभावकबाट चयन गरिनेछ। “सुरुको १५ वर्ष संस्थापक ट्रष्टीले विद्यालय चलाउने, त्यसपछि अभिभावक र त्यसपछि अल्मुनाइलाई ट्रष्टीमार्फत विद्यालय सञ्चालन गर्ने रोडम्यापअनुसार काम भइरहेको छ,” एक अभिभावकले बताए।

