काठमाण्डौ/जेन–जी आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।काभ्रेपलाञ्चोकका युवराज क्यापछाकीलाई पक्राउ गरी थप छानबिन भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा महाराजगन्जमा भएको प्रहरी हत्या प्रकरणमा उनको संलग्नता देखिएको बताइएको छ।
उक्त आन्दोलनका बेला महाराजगन्जमा दुई र कोटेश्वर क्षेत्रमा एक प्रहरीलाई नियन्त्रणमा लिएर ज्यान लिइएको थियो। सो क्रममा विभिन्न प्रहरी कार्यालयमा तोडफोड, आगजनी र लुटपाटसमेत भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, कार्यालयमा आक्रमण र सम्पत्ति लुटपाटमा संलग्न रहेको आशंकामा अन्य व्यक्तिहरूलाई समेत पक्राउ गर्ने काम भइरहेको छ।
फोटो, भिडियो र प्राविधिक प्रमाणका आधारमा आन्दोलनका क्रममा हिंसात्मक गतिविधिमा संलग्नहरूको पहिचान गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

