Spread the love
Spread the love
जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या
दुखद खबर...
Spread the love

काठमाण्डौ/काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ गागलमा आइतबार बिहान एक महिलाको हत्या भएको छ। स्थानीय वडाध्यक्ष जयराम केसीका अनुसार ३५–३६ वर्षका सन्तबहादुर तामाङले आफ्नी ३० वर्षीया श्रीमती मनिषा घ्यावा तामाङको हत्या गरेका हुन्।

सन्तबहादुर पहिले जवरजस्ती करणी मुद्दामा जेल परेका थिए। उनी हालै जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी हुन्। कारागारबाट फरार भएको केही समयमै उनले आफ्नै श्रीमतीलाई लक्षित गर्दै यस्तो अपराध गरेको बताइएको छ।

घटनापछि सन्तबहादुर फरार भएका छन्। घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले जानकारी दिए।

हाल प्रहरीले घटनास्थल वरपर घेराबन्दी गर्दै अनुसन्धान थालिसकेको छ। मृतकको शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको र फरार तामाङलाई खोजी गर्न सुराकी संकलन भइरहेको प्रहरीले जनाएको छ।