काठमाण्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा हुने प्रतिनिधि सभा उपनिर्वाचनका लागि वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापा लाई उम्मेदवार घोषणा गरेको छ। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै पार्टीले थापाको नाम सार्वजनिक गरेको हो।
यसअघि नौ जनाले रास्वपाबाट उम्मेदवारीको आकांक्षा देखाएका थिए। भदौ १२ गते भएको आन्तरिक प्राइमरी निर्वाचनमा सर्वाधिक समर्थन पाएका थापालाई आजको सचिवालय बैठकले औपचारिक उम्मेदवारका रूपमा चयन गरेको पार्टीले जनाएको छ।
डा. थापा लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सक्रिय छन्। न्युरोलोजी विशेषज्ञका रूपमा चिनिएका उनले स्ट्रोक उपचारसम्बन्धी थुप्रै अनुसन्धान गरेका छन् र नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्षसमेत हुन्। थापाले देशभित्र मात्र नभई अन्तर्राष्ट्रियस्तरमा पनि अनुभव हासिल गरेका छन्।
उम्मेदवारी घोषणा कार्यक्रममा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले थापालाई रास्वपाको चुनाव चिन्ह ‘घण्टी’ प्रदान गर्दै पार्टी एकताबद्ध भएर चुनावमा जाने स्पष्ट संदेश दिएका छन्। कार्यक्रममा सहभागी अन्य आकांक्षीहरूले पनि थापालाई समर्थन गर्ने प्रतिबद्धता जनाएका थिए।
रुपन्देही–३ मा प्रतिनिधि सभा सदस्य दिवंगत दीपक बोहोराको निधनपछि रिक्त स्थानमा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ। यस क्षेत्रमा हुने चुनावलाई सबै दलहरूले विशेष महत्त्वका साथ लिएको छन्।

