Like this:

रास्वपाको प्राइमरी इलेक्सनमा भोट हाल्न नपाएको भन्दै उजुरी
वडा सभापति समेतले भोट हाल्न नपाएको गुनासो



काठमाण्डौ/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही क्षेत्र नं. ३ मा उम्मेदवार छान्न गरेको प्राइमरी निर्वाचनमा प्राविधिक समस्या र चलखेल भएको गुनासो उठेको छ।

पार्टी सदस्यहरूले मतदान दिन खोज्दा एप काम नगरेको, युजरनेम–पासवर्ड नखुलेको, कतिपयको भोट पहिले नै खसिसकेको देखाएको जस्ता समस्या आएको दाबी गरिएको छ। केही वडा सभापति र कार्यकर्ताले नै भोट हाल्न नपाएको उजुरी केन्द्रीय कार्यालयमा पुगेको बताइएको छ।

करिब २७७८ मतदातामध्ये करिब ५६ प्रतिशतले मात्र मतदान गर्न सकेको जानकारी बाहिर आएको छ। केन्द्रीय सदस्यहरूकै आधाले पनि मतदान गर्न नपाएको बताएका छन्।

उम्मेदवारका आकांक्षीहरूले पनि सिष्टममा गडबडी भएको भन्दै प्रश्न उठाएका छन्। कतिपय सदस्यको युजरनेम फरक भए पनि पासवर्ड एउटै राख्दा समस्या आएको र अनलाइन सदस्यताको विवरण स्थानीय तहकै नेताले नियन्त्रणमा राखेको आरोपसमेत छ।

पार्टी सचिवालयका अनुसार यसबारे छानबिन सुरु भइसकेको छ र नख्खु कारागारमा रहेका सभापति रवि लामिछानेलाई पनि समस्या देखिएको रिपोर्ट पुगेको छ।

Like this: