Spread the love
Spread the love
सहरी खानेपानी समितिको निर्वाचनमा कांग्रेस–एमाले गठबन्धन माओवादी केन्द्रसंग पराजित
...
Spread the love

रोल्पा सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ नेतृत्वमा माओवादी केन्द्रको प्यानल विजयी भएको छ।

शनिबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका लागि माओवादी केन्द्रका सुमन विकले ४०५ मत प्राप्त गर्दै विजयी बनेका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेस–एमाले गठबन्धनका रामबहादुर बुढाथोकीले ३३७ मत पाए। जम्मा ९१० मतदातामध्ये ७९२ मत खसेकोमा २३ मत बदर भएका थिए।


विकको नेतृत्वमा उपाध्यक्षमा रेवती आचार्य, महासचिवमा अशोक आचार्य, सचिवमा रूपसरा घर्तीमगर, कोषाध्यक्षमा शिला विकसहित सम्पूर्ण पदाधिकारी र सदस्यहरू विजयी भएका छन्। सदस्यतर्फ गीता घर्ती, दुर्गाप्रसाद शर्मा, दीपसरा बुढामगर, देवबहादुर कवर, रामी दमाईं र रेशमबहादुर पुन निर्वाचित भए।


मतदान बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म भएको थियो भने मतगणना राति १२ बजे सम्पन्न भएको हो। विजयी घोषणापछि नयाँ समितिका पदाधिकारीहरूले मतदाताको टोलटोलमा पुगेर धन्यवाद ज्ञापन गरेका छन्।

नव निर्वाचित अध्यक्ष सुमन विकले निर्वाचित टोलीले उपभोक्ताको हितलाई प्राथमिकता दिने उल्लेख गर्दै, खानेपानीको सवालमा दलगत पूर्वाग्रह भन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।