झलनाथ खनालको आह्वान : दलाल पुँजीवादविरुद्ध कम्युनिस्टहरू एकजुट हुनुपर्छ
नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले दलाल पुँजीवादविरुद्ध कम्युनिस्ट शक्तिहरू एक भएर लड्नुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित पुष्पलाल स्मृति दिवसको अवसरमा ‘निर्वासन’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले कम्युनिस्ट आन्दोलनमा वैज्ञानिक समाजवादलाई आधार बनाएर एकता गर्नुपर्ने धारणा राखे।
नेता खनालले पछिल्ला वर्षहरूमा नेपालमा दलाल पुँजीवाद मौलाउँदै गएको भन्दै त्यसविरुद्ध सशक्त वैचारिक र संगठनात्मक संघर्ष आवश्यक रहेको बताए। उनले भने, “भावनामा होइन, सैद्धान्तिक स्पष्टताका आधारमा एकता गर्नुपर्ने समय आएको छ। मार्क्सवाद-लेनिनवाद र वैज्ञानिक समाजवाद नै हाम्रो अन्तिम लक्ष्य हुनुपर्छ।”
खनालले अहिलेको राजनीतिक व्यवस्था ‘पुँजीवादी जनवाद’तर्फ उन्मुख भएको उल्लेख गर्दै जनताको पक्षमा लड्ने क्रान्तिकारी शक्तिहरूबीच सहकार्य अपरिहार्य भएको बताए। खनालले पुष्पलालको योगदानको चर्चा गर्दै वर्तमान सन्दर्भमा उनीद्वारा देखाइएको मार्ग अझै सान्दर्भिक रहेको बताए।
त्यसै अवसरमा उनले नागरिकता सम्बन्धी कानुनप्रति पनि चिन्ता व्यक्त गरे। बाबुको नाम उल्लेख नगरी नागरिकता दिन सकिने प्रस्तावित व्यवस्थाले विदेशीहरूको चाप बढ्न सक्ने भन्दै सचेत रहन सरकारलाई आग्रह गरे। उनका अनुसार यसले करिब ४० हजारभन्दा बढी व्यक्तिलाई नेपाली नागरिकता दिने खतरा उत्पन्न भएको छ।
कार्यक्रममा अन्य वक्ताहरूले पनि पुष्पलालको योगदान र अहिलेको राजनीतिक अवस्थाबारे धारणा राखेका थिए। ‘निर्वासन’ पुस्तकले जननेता पुष्पलालका विचार र योगदानलाई नयाँ पुस्तामा पुर्याउने विश्वास गरिएको छ।

