स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको बताएका छन्। सिंहले विगत ३० वर्षदेखि देशमा सहकारीको रकम हिनामिना गर्ने मुख्य दोषी पुराना दल नेपाली कांग्रेस र नेकपा (एमाले) भएको दाबी गरे। उनी भन्छन्, लामिछानेलाई तीन वर्षअघि मात्रै राजनीतिमा आएका भएकाले फसाउन खोजिएको हो।
सिंहले पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपाले सभापति लामिछानेविरुद्ध सञ्चालन गरेको राजनीतिक प्रतिशोधको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाए। उनले भने, “राज्यले प्रतिशोध साधिरहेको छ, यो पूर्णतया राजनीतिक प्रतिशोध हो।”
उनले कांग्रेस र एमालेको मत हालैको निर्वाचनमा करिब पाँच लाख-५ लाख घटेको उल्लेख गर्दै सहकारी ठगीको वास्तविक जड पुराना दलहरू नै रहेको बताए। सिंहले न्याय प्रणालीमाथि पनि प्रश्न उठाउँदै भने, एमालेका नेता ऋषिकेश पोखरेलकी पत्नीलाई अदालतले एक घण्टामै छोडेको तर लामिछानेलाई पटक-पटक म्याद थोप्रिएर जेलमा राखिएको नियन्त्रित न्याय प्रणाली रहेको आरोप लगाए।
सांसद सिंहले भुटानी शरणार्थी काण्ड, वाइडबडी र पासपोर्ट घोटाला जस्ता ठूला भ्रष्टाचार प्रकरणमा कांग्रेस र एमालेको संलग्नता रहेको तर ती मुद्दाहरू दबाइएको बताए। उनले भने, “पुलिस, प्रशासन र अदालत सबै सेटिङमा हुँदा यो देशमा न्याय पाउन सकिन्न।”
अन्त्यमा सिंहले देशभर भएका सबै प्रकारका भ्रष्टाचार र अनियमितताको मूलमा पुराना दलहरूको सेटिङ रहेको आरोप लगाउँदै रवि लामिछानेलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको पनि स्पष्ट पारे।

