रास्वपाको सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी ओली सहभागी भएको स्पेनको कार्यक्रमको बाहना बनाएर गएकाहरू नेपाल नफर्किएको बताएकी छिन् ।मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै नभइ विभिन्न कार्यक्रमको बाहनामा नेपालीलाई प्रलोभनमा पारेर विदेश लैजाने गिरोहसँग जोडिएको विषय भएको जिकिर गरिन् ।१४ असारमा प्रधानमन्त्री ओलीसहितको सरकारी टोली स्पेन गएको थियो ।
संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन गएका प्रधानमन्त्री ओलीसहितको टोलीमा अन्य व्यक्ति पनि गएको र उनीहरू नफर्किएको उनले बताएकी हुन् ।‘स्वयं प्रधानमन्त्री केपी शर्मा ओली जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिस कार्यक्रममा सहभागी हुने बाहना गरेर नफर्किएको भन्ने समाचारहरू आइरहेका छन् । यो अत्यन्तै गम्भीर विषय हो,’ सांसद गौतमले भनिन् ।केही समयदेखि भिजिट भिसाको दुरुपयोग गरी भइरहेका यस्ता क्रियाकलापविरुद्ध आफूहरू उभिएको उनले बैठकमा बताइन् ।
‘केही समयदेखि भिजिट भिसाको दुरुपयोग गरी निकृष्ट कार्यविरुद्ध संसदीय छानबिन समिति र उच्चस्तरीय जाँचबुझ आयोगको मागसहित विरोधमा उभिएको छ,’ सांसद गौतमले भनिन्, ‘यो कार्य त्रिभुवन विमानस्थलभित्र मात्रै होइन, विभिन्न कार्यक्रमको बाहनामा नेपालीलाई लोभ प्रलोभनमा पारी लैजाने गिरोहसँग पनि जोडिएको विषय हो ।’आफूहरूले कुनै व्यक्ति विशेष गरी अरोप नलगाएको बताउँदै सांसद गौतमले यस्तो गम्भीर विषयमा टालटुले समिति बनाएकोप्रति आफूहरूको आपत्ति रहेको बताइन् ।
