Like this:

ट्रम्पले नोबेल शान्ति पुरस्कार पाउनुपर्छ : इजरायल

इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेको छ । अमेरिका भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि योग्य उम्मेद्वारको रुपमा व्याख्या गर्दै यो पुरस्कार आफूले पाउनु पर्ने बताएका हुन् ।केही समय अघि अमेरिकाको सहयोगमा इरानमाथी आक्रमण गरेको इजरायलले अमेरिकामाथी बफादारिता देखाएको छ ।

इजरायली प्रधानमन्त्रीले डोनाल्ड ट्रम्पलाई उनको सरकारले नोबेल पुरस्कार समितिलाई पठाएको पत्र पनि हस्तान्तरण गरेका छन् । यस पत्रमा डोनाल्ड ट्रम्पको शान्ति प्रयासलाई उद्धृत गर्दै उनलाई नोबेल शान्ति पुरस्कार दिन सिफारिस गरिएको छ ।ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पलाई पत्र हस्तान्तरण गर्दै बेन्जामिन नेतान्याहुले ट्रम्पले नोबेल शान्ति पाउनु पर्ने बताए ।

‘तपाईं यस सम्मानको पूर्ण रूपमा योग्य हुनुहुन्छ’ उनले भने । यस वर्ष जनवरीमा ट्रम्प राष्ट्रपति बनेपछि बेन्जामिन नेतान्याहुको यो तेस्रो अमेरिका भ्रमण हो। नेतान्याहुको भ्रमणको उद्देश्य गाजामा युद्धविरामबारे छलफल गर्नु रहेको छ ।  गाजामा जारी युद्धका बीच बेन्जामिन नेतन्याहुको यो अमेरिका भ्रमणलाई महत्त्वपूर्ण मानिएको छ। गाजामा युद्ध रोक्न अमेरिकाले इजरायलमाथि दबाब बढाएको छ । यस विषयमा छलफल गर्न उनी वासिङ्टन आएका हुन् ।

अमेरिका प्रस्थान गर्नु अघि, नेतान्याहुले गाजामा युद्धविरामको मध्यस्थता गर्न ट्रम्पमा विश्वस्त रहेको बताएका थिए, जहाँ अक्टोबर २०२३ देखि लडाइँ भइरहेको छ।डोनाल्ड ट्रम्पले बारम्बार नोबेल पुरस्कार पाउने इच्छा व्यक्त गरेका छन् । विश्वका कैयौं युद्धमा हस्तक्षेप गरेर पनि उनले आफ्नो यो इच्छा विश्वसामु राखेका छन् ।

Like this: