काठमाडौँ । नेपाल पत्रकार महासंघमा केन्द्रदेखि प्रदेश र जिल्ला तहसम्मै शुक्रबार हुने निर्वाचनमा काङ्रेस निकट नेपाल प्रेस युनियन र एमाले निकट प्रेस चौतारी नेपालले संयुक्त गठबन्धन बनाएर चुनावी मैदानमा होमिएका छन् ।
प्रेस युनियन र प्रेस चौतारीले सबै भौगोलिक तथा गैर भौगोलिक शाखाहरुमा संयुक्त प्यानल बनाएर चुनावी मैदानमा जाने घोषणा गरेका छन् । यस अनुसार प्रेस युनियनले ६ प्रदेश र प्रेस चौतारीले ४ प्रदेशको नेतृत्व पाएको छ । जिल्लातर्फ एमाले निकट प्रेस चौतारीले ३४ जिल्ला र काङ्रेस निकट प्रेस युनियनले ४३ जिल्लामा नेतृत्व पाउने समझदारी भएको छ ।
साथै प्रदेश समितिको हकमा अध्यक्ष पाउने संगठनले समावेशी उपाध्यक्ष र कोषाध्यक्षसहित ८ सदस्य पाउने छ । उपाध्यक्षको नेतृत्वमा सहभागि हुने संगठनले महासचिव, सचिव, समावेशी सचिव सहित ६ सदस्य पाउने सहमति भएको छ ।
जिल्ला शाखाको हकमा अध्यक्ष नेतृत्वले महिला उपाध्यक्ष, कोषाध्यक्ष सहित कार्यसमितिको कुल संख्यामा अध्यक्षलाई एक सदस्य बढी हुने गरी सदस्य संख्या कायम हुने समझदारीमा उल्लेख छ । अर्को संगठनले भने सचिव, सहसचिव, समावेशी सहसचिव र सदस्य पद पउने छ ।
यसै अनुरुप युनियन–चौतारी गठबन्धनले निर्मला शर्माको नेतृत्वमा महासंघमा चुनावी प्रतिस्पर्धा गर्दै छ । महासंघ केन्द्रीय समितिको बरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, उपाध्यक्ष (महिला)मा नितु पण्डित, उपाध्यक्ष (समावेशी)मा उमीदप्रसाद बागचन्द र केन्द्रिय महासचिवमा रामप्रसाद दाहाल उमेदवार बनेका छन् ।
विभिन्न क्लस्टरका सचिवहरुमा रमेश खतिवडा, सानी शर्मा, सविन प्रियासन, अशोककुमार तिवारी, प्रकाश धौलाकोटी र बैकुण्ठराज पराजुली चुनावी मैदानमा छन् । कोषाध्यक्ष पदमा रामकृष्ण ज्ञवाली र लेखा समिति संयोजकमा केसी लामिछाने उमेदवार छन् ।
प्रदेश नेतृत्वमा पनि कोशीमा भरत खड्का, मधेशमा श्याम बञ्जारा, बागमतीमा शिव देवकोटा, उपत्यकामा मोहन पन्त, गण्डकीमा रमेश पौडेल, लुम्बिनीमा शुक्रऋषि चौलागाईँ, कर्णालीमा विष्णुप्रसाद शर्मा, सुदुर पश्चिममा भरतबहादुर शाह र एशोसियट प्रदेशमा स्मृति ढुंगाना अध्यक्षको उमेदवार छन् । प्रतिष्ठान प्रदेशमा भने रमेश वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन् ।