सांसद सुनिल शर्माको चेतावनी:- शेखर समूहलाई पेलिरहे ०८४ अघि कांग्रेस फुट्न सक्छ ।

काठमाण्डौ, नेपाली काङ्रेसका सांसद सुनिल शर्माले संस्थापन (देउवा) पक्षले शेखर कोइराला समूहलाई पेलिरहे ०८४ अघि कांग्रेस फुट्न सक्ने बताएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गरेर पार्टी क्याप्चर गरेर‚ शेखर समूहलाई पेलेर अघि बढ्ने दिवास्वप्न नदेख्न पनि शर्माले चुनौती दिए । गिरिजाप्रसाद कोइराला पार्टी सभापति हुँदा शेरबहादुर देउवालाई पार्टी भित्र सम्मानजनक भाग र ‌ओहोदा दिएको स्मरण गर्दै उनले ४१ प्रतिशत मत ल्याएको शेखर कोइरालालाई कोही हैन भन्ने व्यवहारको अन्त्य गर्न चेतावनी पनि दिए ।

‘उहाँहरूले यहीँ रवैया अपनाएर गए कांग्रेस पार्टीभित्र दुर्भाग्य हुन्छ । ०८४ अगाडी कांग्रेस दुर्घटनामा जान सक्छ‚’ उनले भने । उनले यसका विरुद्ध देशभर गएर कार्यक्रम गर्ने भन्दै पुस ५ गते धनगढीमा कार्यक्रम आयोजना गरिएको बताए ।

नेता शर्माले कोशी प्रदेशमा भएको भेला र प्रदेश सम्मेलन बहिस्कारको विषयमा जानकारी गराउँदै भने‚ ‘त्यहाँ एक किसिमले शेखर दाइलाई डोमिनेट गरेर निषेध गरेपछि हामीले सशक्त कुरा राख्यौँ । सभापतिज्यूले पछि कांग्रेस लोकतान्त्रिक दल हो विरोध गर्न बोल्न पाइन्छ भन्नुभयो ।’

सभापति देउवाको तारिफ गर्दै उनले देउवामा आफूले बिपी कोइरालाको आत्मा जीवित रहेको अनुभूति गरेको पनि बताए ।

‘बिपी कोइरालासँग काम गरेको शेरबहादुर दाइ हो । बिपी कोइरालाको आत्मा कहीँ न कहीँ शेरबहादुर देउवामा छ‚’ उनले भने‚ ‘उहाँको वरिपरि कोही मान्छे छन् जो चुनाव पनि जितेकै छैनन् । उनीहरूले बिगारेका हुन् ।’

सांसद सुनिल शर्माको चेतावनी:- शेखर समूहलाई पेलिरहे ०८४ अघि कांग्रेस फुट्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top