बैतडीको दोगडाकेदार गाउँपालिका–५ स्थित बिटकम क्षेत्रमा सडकमाथिबाट सुख्खा पहिरो खसेपछि सुदूरपश्चिमको मुख्य सञ्चार र यातायातको धड्कन मानिने महाकाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
लगातारको वर्षा र भिरालो जमिनका कारण ठूला-ठूला ढुङ्गा तथा माटोसहितको लेदो खसेर राजमार्गको मुख्य भाग पुरिएपछि बैतडीलाई दार्चुलालगायत अन्य तराईका जिल्लाहरूसँग जोड्ने यो सडकखण्ड ठप्प बन्न पुगेको हो।जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (DSP) दीपककुमार रायका अनुसार आज बिहानै अकस्मात सडकमाथिबाट पहिरो खसेका कारण यातायात सेवा रोकिएको हो।
घटना लगत्तै प्रहरी टोली नियन्त्रण र सहजीकरणका लागि घटनास्थलमा पुगेको थियो। हाल सडक विभाग र स्थानीय प्रशासनको समन्वयमा जेसिबी (JCB) प्रयोग गरी सडकमा थुप्रिएको पहिरो र ठूला ढुङ्गाहरू हटाउने काम तीव्र गतिमा भइरहेको छ।पहिरोका कारण बिहानैदेखि लामो तथा छोटो दूरीका सयौँ सवारी साधनहरू सडकमै रोकिएका छन् भने हजारौँ यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।

खासगरी आकस्मिक स्वास्थ्य उपचारका लागि अस्पताल जाँदै गरेका बिरामी, वृद्धवृद्धा र साना बालबालिकाहरू राजमार्ग अवरुद्ध हुँदा बढी मार्कामा परेका छन्। प्रहरीले थप पहिरो खस्ने जोखिम अझै कायमै रहेकाले सो सडकखण्ड भई यात्रा गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन र बाटोको पछिल्लो अवस्था बुझेर मात्र यात्रा तय गर्न आग्रह गरेको छ।