नुवाकोट! भदौ १० गते तिब्बतबाट आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नुवाकोटका बस्तीमा पीडितलाई सहयोग गर्न योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले राहत तथा श्रमदान अभियान सञ्चालन गरेको छ।वाईसीएलको टोलीले तुप्चे, त्रिशूलीपारि लगायतका प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारलाई आवश्यक राहत सामग्री वितरण गर्नुका साथै बाढीले क्षति पुर्याएका घर तथा बजार क्षेत्रको सरसफाइमा प्रत्यक्ष श्रमदान गरेको हो।
नेकपाका केन्द्रीय सदस्य राजन दाहाल, वाईसीएल नेपालका केन्द्रीय अध्यक्ष पुष्प ओली र नुवाकोट जिल्ला अध्यक्ष जलन गजुरेलको नेतृत्वमा टोली कार्यक्षेत्रमा परिचालित छ।अभियानअन्तर्गत प्रभावित परिवारलाई ९२ वटा डसना, ९० वटा तन्ना, ५० थान पोलार, करिब १०० बालबालिकाका लागि लत्ताकपडा, २ रोल म्याट, २ दर्जन हर्लिक्स र १०० जोर चप्पल वितरण गरिएको छ।त्यसैगरी चामल, दाल, नुनलगायत खाद्यान्न, प्राथमिक उपचारका औषधि तथा बालबालिकाका लागि स्टेसनरी सामग्रीसमेत उपलब्ध गराइएको छ।
राहत वितरणसँगै वाईसीएलका कार्यकर्ता त्रिशूलीस्थित पुरानो बजार क्षेत्रमा पुगेर बाढीले घरभित्र थुपारेको हिलो, माटो र ढुंगा पन्छाउन खटिएका छन्। गैँती, बेल्चा र बुटसहित मैदानमा उत्रिएका युवाहरूले पीडितको घरआँगन सफा गर्ने काममा प्रत्यक्ष सहयोग गरिरहेका छन्।वाईसीएलले तत्कालीन राहतपछि पुनःस्थापना र पुनर्निर्माणको चरणमा समेत स्थानीय समुदाय तथा राज्य संयन्त्रसँग समन्वय गरेर ठूलो संख्यामा युवालाई बाढी पीडितलाई सहयोग गर्न स्वयंसेवकका रूपमा परिचालन गर्ने जनाएको छ।
