बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय, नुवाकोटको सक्रियतामा विदुर नगरपालिका–५ देवीघाटमा तुइन जडान गरी सञ्चालनमा ल्याइएको बताएका छन्।
यही भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढीले पुलमा क्षति पुऱ्याएपछि सो क्षेत्रमा त्रिशूली नदी वारिपारि गर्न गम्भीर समस्या हुँदै आएको थियो।जनताको दैनिक जीवनलाई सहज बनाउने यस्ता साना तर अति महत्वपूर्ण पूर्वाधार निर्माणलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको उनले बताए।
जनताको आवश्यकता जहाँ छ, प्रदेश सरकारको उपस्थिति त्यहीं हुनुपर्छ भन्ने प्रतिबद्धताका साथ काम भइरहेको मुख्यमन्त्रीको भनाइ छ।तुइन सञ्चालनमा आएसँगै त्रिशूली नदी वारिपारि आवतजावत गर्नका साथै खाद्यान्न, औषधिलगायतका अत्यावश्यक सामग्री ढुवानी गर्न ठूलो राहत पुग्नेछ। नागरिकको समस्या समाधान र सहजताका लागि प्रदेश सरकार निरन्तर क्रियाशील रहने र आवश्यकताअनुसार यस्ता आपतकालीन पूर्वाधार निर्माणलाई अझ तीव्र पारिने उनले स्पष्ट पारे।
