Spread the love
Spread the love
बालेनलाई सुदन किरातीको व्यंग्य : न लेन हेर्छन्, न ट्राफिक लाइट
Spread the love

काठमाण्डौ, श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीमाथि प्रश्न उठाउँदै उनलाई ट्राफिक नियम पालना नगर्ने एम्बुलेन्स चालकसँग तुलना गरेका छन्।इलाम नगरपालिका–५ बरबोटेमा आयोजित पार्टीको जनहातेमालो कार्यक्रमलाई सम्बोधन गर्दै किरातीले जनताले विश्वास गरेर देश सञ्चालनको जिम्मेवारी दिए पनि सरकार विधि र कानुनअनुसार अघि बढ्न नसकेको आरोप लगाए।

उनले प्रधानमन्त्री शाहले ट्राफिक नियम बेवास्ता गरेजस्तो शैलीमा शासन सञ्चालन गर्न नहुने टिप्पणी गरे। जनताले देशको चाबी चालकलाई दिएको तर चालकले ट्राफिक बत्ती, लेन र पार्किङका नियम नै नमान्ने अवस्था आएजस्तो देखिएको उनको भनाइ थियो।किरातीले जनताबाट निर्वाचित नेतृत्वले संविधान, कानुन र स्थापित विधिको सम्मान गर्दै काम गर्नुपर्ने बताए। आगामी निर्वाचनमा श्रम संस्कृति पार्टीलाई देशको नेतृत्व गर्ने अवसर दिनुपर्ने उनको दाबी थियो।

उनले सरकार जनतामाथि शासन गर्ने निकाय नभई जनताको सेवक बन्नुपर्ने धारणा पनि राखे।कार्यक्रममा किरातीले आफू पार्टी अध्यक्ष हर्क साम्पाङको नेतृत्व स्वीकार गरेर दोस्रो भूमिकामा काम गर्न आएको स्पष्ट पारे। आफूमा पहिलो व्यक्ति बन्ने महत्वाकांक्षा नरहेको भन्दै पार्टीभित्र विभाजन वा नेतृत्वको टकराव हुन नदिने प्रतिबद्धता जनाए।पुराना दलका नेताहरूबीचको सत्ता संघर्ष र व्यक्तिगत अहंकारका कारण देशले समस्या भोगेको उल्लेख गर्दै उनले श्रम संस्कृति पार्टीले त्यस्तो बाटो नअपनाउने बताए।कार्यकर्तालाई सम्बोधन गर्दै किरातीले भारतका दशरथ माझीले लामो समय लगाएर पहाड काटी बाटो निर्माण गरेको उदाहरण दिँदै पार्टी निर्माण र जनसेवाका लागि पनि त्यस्तै धैर्य, अठोट र निरन्तर मेहनत आवश्यक रहेको बताए।कार्यक्रममा विभिन्न राजनीतिक दल छाडेर श्रम संस्कृति पार्टीमा प्रवेश गरेका दर्जनौँ व्यक्तिलाई किरातीले स्वागत गरेका थिए।