सप्तरी, सप्तरीको शम्भुनाथ नगरपालिका–२ मा दुई वर्षीया बालिका खुसी खातुङको हत्या भएको छ। घटनामा बालिकाकी सौतेनी आमा जस्मिन खातुङ संलग्न रहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार आइतबार बिहान घरनजिकै रहेकी बालिकालाई जस्मिनले घाँटी थिचेर हत्या गरेको र शव घरदेखि करिब ५० मिटर टाढाको झाडीमा लगेर फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।खाना खाने बेला छोरी घरमा नभेटिएपछि परिवारले खोजी थालेको थियो।
प्रहरी र स्थानीयले खोज्ने क्रममा झाडीमा बालिकाको शव फेला पारेका थिए।अनुसन्धानका क्रममा सीसीटीभी फुटेजका आधारमा सौतेनी आमा जस्मिन पक्राउ परेको बताइएको छ। वडाध्यक्षका अनुसार उनले रिसको आवेगमा बालिकाको हत्या गरेको स्वीकार गरेकी छन्।घटनाअघि घरमा दुई श्रीमतीबीच विवाद भएको र त्यसैको रिस बालिकामाथि पोखिएको हुनसक्ने प्रहरीले जनाएको छ।दुई वयस्कबीचको विवादको मूल्य एक अबोध बालिकाले ज्यान दिएर चुकाउनुपरेको यो घटनाले समाजमा गम्भीर प्रश्न खडा गरेको छ।
