काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबाट सरकारमा सहभागी मन्त्री तथा सांसदलाई संसदीय मर्यादा कायम राख्दै जिम्मेवार ढंगले प्रस्तुत हुन निर्देशन दिएका छन्।
संसदीय दलको बैठकमा लामिछानेले सांसद तथा मन्त्रीका गतिविधि पार्टी र जनताले नजिकबाट हेरिरहेको भन्दै अमर्यादित गतिविधि गरेर रमिता नदेखाउन आग्रह गरेका हुन्।
उनले संसद्मा नियमित उपस्थित हुन, आफ्ना जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्न तथा मन्त्री र सांसदबीच आवश्यक समन्वय कायम गर्न निर्देशन दिएको बताइएको छ।
लामिछानेले सरकारमा सहभागी मन्त्रीहरूले प्रचारमा भन्दा नतिजा देखिने गरी काम गर्नुपर्नेमा जोड दिएका छन्। जनताले परिवर्तनको अपेक्षा गरेको भन्दै जिम्मेवारी पाएका व्यक्तिले आफ्नो कामबाट त्यसको अनुभूति गराउनुपर्ने उनको भनाइ थियो।
बैठकमा मन्त्रीहरूको कार्यशैलीबारे पनि समीक्षा भएको थियो। तत्काल मन्त्री परिवर्तन गर्नेभन्दा कार्यशैली सुधार गरेर परिणाम निकाल्न निर्देशन दिने निष्कर्षमा रास्वपा पुगेको बताइएको छ।
