काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव चर्किएसँगै उपभोक्ताको समस्या झन् बढेको छ। आइतबार टेकुस्थित नेपाल आयल निगम परिसरमा ग्यास लिन पुगेका सर्वसाधारणको लामो लाइन र भीड देखिन्थ्यो।त्यही भीडबाट एक दृष्टिविहीन व्यक्ति काँधमा ग्यास सिलिन्डर बोकेर बाहिरिँदै थिए। हातमा लठ्ठी, काँधमा झोला र अर्को हातमा श्रीमतीको सहारा लिएर उनी बिस्तारै अघि बढिरहेका थिए।
उनी जुम्लाको पातारासी गाउँपालिका–३ का दिलबहादुर बुढा हुन्। उनी पूर्ण दृष्टिविहीन छन्। उनकी श्रीमती निरमाया प्याकुरेल पनि दृष्टिसम्बन्धी समस्यामा छन्। उनीहरूको साथमा दुई वर्षीय छोरा पनि थिए।हाल काठमाडौंको फुटुङमा बस्दै आएका उनीहरूको घरमा ग्यास सकिएको करिब १० दिन भइसकेको थियो। ग्यास नपाएपछि परिवारले खाना पकाउनसमेत समस्या भोग्दै आएको थियो।दिलबहादुरका अनुसार आइतबार बिहानै उनीहरू फुटुङबाट टेकु आएका थिए।
सार्वजनिक यातायातका दुईवटा साधन परिवर्तन गरेर टेकु पुगेका उनीहरूले लामो समय लाइनमा बसेपछि दिउँसो ग्यास पाएका हुन्।ग्यास अभावका कारण खाना पकाउन नपाउँदा परिवारले केही दिन चिउरा र पानीकै भरमा गुजारा गर्नुपरेको उनले बताए।
