काठमाडौं — नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारको कार्यशैलीप्रति कडा प्रश्न उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले उनीमाथि आवश्यक कारबाही गर्नुपर्ने माग गरेका छन्।खरेलले फेसबुकमा स्टाटस लेख्दै सुनारको कार्यशैलीले संसदीय निगरानीभन्दा बढी संस्थामाथिको दबाब र सस्तो लोकप्रियताका लागि गरिने प्रदर्शनको आभास दिन थालेको टिप्पणी गरेका छन्।
उनले कहिले रातारात सिन्धुली पुगेर एसपीलाई कार्यालयबाटै नियन्त्रणमा लिएर घिसारेर काठमाडौं ल्याउने चेतावनी दिने, कहिले बेनामे उजुरीकै आधारमा गृहसचिवदेखि आइजिपी र एआइजिपीसम्मलाई संसदीय समितिमा उभ्याएर प्रमाणअघि नै दोषीझैँ प्रस्तुत गर्ने शैलीप्रति आपत्ति जनाएका छन्।खरेलले अनुसन्धान नै नसकिँदै बर्खास्त गर्नुपर्छ भन्ने सार्वजनिक अभिव्यक्ति र कानुनी प्रक्रियालाई गौण ठान्ने प्रवृत्तिले प्रहरी तथा कर्मचारी प्रशासनको मनोबलमा असर पार्ने बताएका छन्।उनका अनुसार आरोप प्रमाणित हुने आधार भए सरकारले कानुनी प्रक्रिया अघि बढाएर आवश्यक कारबाही गर्नुपर्छ। तर अनुसन्धान पूरा नहुँदै सार्वजनिक रूपमा कसैलाई दोषीझैँ प्रस्तुत गर्नु न सुशासन हो, न न्याय।खरेलले प्रहरी महानिरीक्षकको पदमा रहेका अधिकारीले दशकौँको सेवा र व्यावसायिक यात्रा तय गरेको उल्लेख गर्दै प्रमाणित निर्णयबिना सार्वजनिक आरोपकै आधारमा उनको सम्पूर्ण करिअरमाथि निष्कर्ष निकाल्नु न्यायसंगत नहुने बताएका छन्।
उनले लोकतन्त्रमा कडा प्रश्न उठाउनु आवश्यक भए पनि त्यसका लागि विधि, प्रमाण र संस्थागत मर्यादा कायम हुनुपर्ने बताएका छन्। सुशासन चर्को स्वर, उत्तेजक अभिव्यक्ति वा सार्वजनिक प्रदर्शनबाट नभई विधिको शासन, संस्थाप्रतिको सम्मान र प्रमाणमा आधारित जवाफदेहिताबाट स्थापित हुने उनको भनाइ छ।सांसद सुनारमाथि पार्टीस्तरबाट कारबाहीको मागखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई सुशासन, जवाफदेहिता र संस्थागत सुधारको पक्षधर दलका रूपमा प्रस्तुत गर्दै आएको स्मरण गराउँदै सांसद खगेन्द्र सुनारको अमर्यादित कार्यशैलीबारे पार्टीले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्।
उनले सुनारसँग आवश्यक स्पष्टीकरण माग्दै पार्टीले आवश्यक कारबाहीसमेत गर्नुपर्ने बताएका छन्।‘सुशासनको नारा दिने दलले सबैभन्दा पहिले आफ्नै सांसदहरूको आचरण, अभिव्यक्ति र संसदीय मर्यादामाथि नियन्त्रण तथा उत्तरदायित्व सुनिश्चित गर्न सक्नुपर्छ,’ खरेलको भनाइ छ।खरेलले सुशासनको प्रतिबद्धता नारामा मात्रै सीमित नराखी व्यवहारमै लागू गर्न र आफ्नै सांसदको आचरणमाथि समेत जवाफदेहिता कायम गर्न रास्वपालाई आग्रह गरेका छन्।
