मध्यपूर्वमा दिनप्रतिदिन बढ्दै गएको रणनीतिक तनावका बिच अमेरिकाले इरानविरुद्ध तय गरिएका थप हवाई आक्रमणका योजनाहरू हालका लागि रोक्न आफ्ना सैन्य कमाण्डरहरूलाई निर्देशन दिएको छ।
कूटनीतिक बाटो खुला राख्न र सो क्षेत्रमा थप ठूलो युद्ध भड्किन नदिन वासिङ्टनले यो कदम चालेको बुझिएको छ।हवाई आक्रमणको जोखिम तत्कालका लागि टरेको जस्तो देखिए पनि विश्वकै प्रमुख खनिज तेल ओसारपसार हुने “स्ट्रेट अफ हर्मुज” क्षेत्र भने अझै अशान्त छ।
उक्त जलमार्गमा अन्धाधुन्ध बिछ्याइएका समुद्री माइनहरू र अज्ञात समूहहरूद्वारा भइरहेका लगातारका आक्रमणका कारण दर्जनौँ तेल ट्याङ्करहरू बीच बाटोमै रोकिएका छन्।यस जलमार्गमा उत्पन्न अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र उछाल आउने र विश्वव्यापी इन्धन आपूर्ति प्रणाली नै प्रभावित हुने खतरा बढेको छ।
परिस्थिति नियन्त्रणमा लिन र व्यापारिक जहाजहरूको सुरक्षा सुनिश्चित गर्न अमेरिका र उसका सहयोगी राष्ट्रहरूले सो क्षेत्रमा नौसेनाको गस्ती बढाएका छन् भने इरानले पनि आफ्नो समुद्री सीमामा सैन्य सतर्कता उच्च बनाएको छ।
