हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले अधिकांश हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। विशेष गरी बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। तराईका केही भागमा आंशिकदेखि सामान्य बदली रहने र हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
अविरल वर्षाका कारण देशका प्रमुख राजमार्ग तथा सडक खण्डहरू बाढी, पहिरो र नदी कटानले गर्दा प्रभावित बनेका छन्। बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ भने कान्ति लोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म आवतजावत बन्द गरिएको छ।
