Spread the love
Spread the love
माग सम्बोधन नगरी नागढुंगा सुरुङमार्ग उद्घाटन नगर्न स्थानीयको चेतावनी
Spread the love

राष्ट्रिय गौरवको आयोजना नागढुंगा सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी भइरहँदा प्रभावित स्थानीय बासिन्दा भने आन्दोलित बनेका छन्।

वर्षौंदेखि कायम रहेका आफ्ना समस्या समाधान नगरिकनै सुरुङमार्गको उद्घाटन गर्न लागिएको भन्दै उनीहरूले विरोध जनाएका हुन्।​साउन ११ गते सोमबार हुने भनिएको उद्घाटनको पूर्वसन्ध्यामा स्थानीयले आज आयोजनाको पूर्वी गेटमा शान्तिपूर्ण धर्ना दिएका छन्। आयोजनाका कारण प्रत्यक्ष प्रभावित भएका नागरिकका पिरमार्का सम्बोधन गर्नुको साटो पेलेरै सुरुङमार्ग सञ्चालन गर्न खोजिएको उनीहरूको गुनासो छ।​

स्थानीयका अनुसार आयोजना निर्माणका क्रममा खानेपानीका मुहान सुकेर काकाकुल हुनु परेको, घरहरू चर्किएर क्षति पुगे पनि क्षतिपूर्ति नपाएको र सिस्नेखोला पानी लिफ्टिङजस्ता आधारभूत सम्झौताहरू अझै अलपत्र परेका छन्।

सम्बन्धित निकायलाई पटक-पटक ध्यानाकर्षण गराउँदा पनि विगतका प्रतिबद्धताहरू कागजमै सीमित भएको उनीहरूको आरोप छ।​नागढुंगा सुरुङमार्ग पीडित सङ्घर्ष समितिका अध्यक्ष गोपी सुर्खेतीले आफूहरूले कुनै नयाँ माग नराखेको तर विगतमा भएका सम्झौता र प्रतिबद्धताको पूर्ण कार्यान्वयन चाहेको बताउनुभयो।

माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी उहाँले दिनुभएको छ।​विकास निर्माणका आयोजना सफल बनाउन प्रभावित नागरिकको न्याय, अधिकार र बसोबासको सुरक्षालाई पनि प्राथमिकतामा राख्नुपर्ने स्थानीयको स्पष्ट अडान छ।