उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डेनियल म्युउली मोन्टेलियोनले शिष्टाचार भेटघाट गरेकी छन्।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार भएको उक्त भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, सहकार्य र आपसी हितका विविध विषयमा छलफल भएको थियो।भेटका क्रममा उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र स्विट्जरल्यान्डको सम्बन्ध सौहार्दपूर्ण र सहयोगात्मक रहँदै आएको बताए।
उच्चस्तरीय भ्रमणहरूले यो सम्बन्धलाई थप सुदृढ र गतिशील बनाएको उल्लेख गर्दै उनले नेपालको शान्तिप्रक्रियामा स्विस सरकारले पुर्याएको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे।
साथै, स्विस विकास नियोग (SDC) मार्फत नेपाललाई प्राथमिकतामा राखेर भूकम्पपछिको पुनर्निर्माण, झोलुंगे पुल निर्माण, रोजगारी सिर्जना र प्राविधिक सहयोगजस्ता क्षेत्रमा पुर्याएको योगदानले सर्वसाधारणसम्म प्रत्यक्ष लाभ पुगेको उपराष्ट्रपति यादवको भनाइ थियो।सो अवसरमा स्विस राजदूत डेनियलले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई अझ उचाइमा पुर्याउनुपर्नेमा जोड दिइन्।
उपराष्ट्रपतिको सचिवालयका अनुसार उनले स्विस सरकार नेपालको उद्योगलगायत सम्भावना बोकेका क्षेत्रमा लगानी बढाउन इच्छुक रहेको समेत जानकारी गराइन
