Spread the love
Spread the love
रूसको दक्षिण क्षेत्रमा युक्रेनी ड्रोन प्रहार
Spread the love

युक्रेनी ड्रोनले दक्षिण रूसमा रहेको अनलाइन खुद्रा विक्रेता 'वाइल्डबेरीज' (Wildberries) का दुई ठूला रसद केन्द्र (लजिस्टिक सेन्टर) मा आक्रमण गर्दा धेरै मानिस घाइते भएका छन्।

प्राप्त जानकारी अनुसार आक्रमणका कारण नजिकैको एक तेल डिपोमा पनि ठूलो क्षति पुगेको छ।​उक्त बजारकी संस्थापक तात्याना किमका अनुसार बुधबार रूसको क्रास्नोडार र नेभिनोमिस्कमा रहेका वाइल्डबेरीजका रसद केन्द्रहरूमा ड्रोन प्रहार गरिएको थियो।

आक्रमण हुनुअघि नै अधिकांश कर्मचारीहरूलाई सुरक्षित स्थानमा निकालिए तापनि केही मानिसहरू घाइते हुन पुगेका छन्।​किमले टेलिग्राममा लेखेकी छन्, ‘म घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु र हामी निश्चित रूपमा सबै आवश्यक सहयोग प्रदान गर्नेछौँ।’

साथै उनले वाइल्डबेरीजका साझेदारहरूलाई आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गरेकी छन्।​क्रास्नोडार क्राईको सञ्चालन मुख्यालयका अनुसार त्यहाँको गोदाममा भएको आक्रमणमा तीन जना घाइते भएका छन्।

यस्तै, स्टाभ्रोपोल क्राईका गभर्नर भ्लादिमिर भ्लादिमिरोभले नेभिनोमिस्क कम्प्लेक्समा ड्रोन प्रहार हुँदा पाँच कर्मचारी घाइते भएको बताएका छन्। सोही आक्रमणकै क्रममा राति अर्माभिरस्थित तेल डिपोमा पनि ड्रोन खस्दा ८ सय वर्ग मिटर क्षेत्रमा भीषण आगो फैलिएको थियो।

उक्त आगो नियन्त्रणमा लिन ४० भन्दा बढी आपतकालीन टोली खटिएका थिए।​क्रास्नोडारमा खसेका ड्रोनका अवशेषले दुई अपार्टमेन्ट भवनमा क्षति पुर्‍याए पनि कुनै मानवीय क्षति भने भएन

। 'द मस्को टाइम्स'का अनुसार लक्षित गरिएका यी दुवै केन्द्र वाइल्डबेरीजका सबैभन्दा ठूला वितरण केन्द्रमा पर्छन्। क्रास्नोडार गोदाम कम्पनीको चौथो ठूलो र नेभिनोमिस्क कम्प्लेक्स छैटौँ ठूलो केन्द्र हो।​युक्रेनी अनुगमन च्यानल 'एक्सिलेनोभा'ले यसअघि मस्को केन्द्रमा भएको आक्रमणबाट मात्रै २७ करोड रूबलभन्दा बढीका सामान नष्ट भएको जनाएको थियो।

युक्रेनले यसअघि पनि इलेक्ट्रोस्टल र कोटोभ्स्कस्थित केन्द्रहरूलाई निशाना बनाउँदा कम्पनीको करिब ९ प्रतिशत रसद क्षमता प्रभावित भइसकेको छ।​विश्लेषक सर्गेई सेम्कोका अनुसार यी दुई सुविधाकेन्द्रमा आगलागी हुँदा करिब ३० अर्ब रूबल मूल्यका संरचनामा क्षति पुग्नुका साथै कम्तीमा १५० अर्ब रूबल मूल्यका सामान नष्ट भएका छन्। समग्र क्षति १७० देखि २३० अर्ब रूबलसम्म पुग्ने अनुमान गरिएको छ।​संस्थापक किमले प्रभावित विक्रेताहरूलाई क्षतिपूर्ति दिनेबारे विचार भइरहेको बताएकी छिन्। तर, यस्ता

भुक्तानीले कम्पनीको वार्षिक नाफा नै सखाप पार्न सक्ने 'फोर्ब्स'ले जनाएको छ। यसअघि नै जुलाई ७ मा वाइल्डबेरीजले युद्धजन्य घटनाबाट हुने क्षतिमा कम्पनी उत्तरदायी नहुने नयाँ सेवा सर्त सार्वजनिक गरिसकेको थियो।​रूसको रक्षा मन्त्रालयले जुलाई २१ देखि २२ को बिचमा क्रास्नोडार, स्टाभ्रोपोल, क्रिमिया लगायतका क्षेत्रमा २४२ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ।

युक्रेनले यस आक्रमणको आधिकारिक पुष्टि नगरे पनि मानवरहित प्रणाली बलका कमाण्डर रोबर्ट ब्रोव्दीले भने टेलिग्राममार्फत युक्रेनी संलग्नताको संकेत गरेका छन्।