गत आर्थिक वर्षमा झापा जिल्लामा प्राकृतिक विपद्का कारण ठूलो धनजनको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाका अनुसार उक्त अवधिमा जिल्लाभर कुल ३५९ वटा विपद्का घटनाहरू अभिलेख गरिएका थिए, जसमा परी ११ जनाले ज्यान गुमाएका छन् भने ३७ जना घाइते भएका छन्। आर्थिक क्षतिको हिसाबले यस अवधिमा कुल २२ करोड ७४ लाख ६० हजार नौ सय ५९ रुपैयाँ बराबरको नोक्सानी भएको छ।
वर्षभरि भएका घटनाहरूमध्ये सबैभन्दा बढी १५६ वटा आगलागी, ९४ वटा जङ्गली हात्ती तथा वन्यजन्तुको आक्रमण, ५२ वटा हुरीबतास, ३५ वटा बाढी तथा डुबान र २२ वटा चट्याङका घटना रहेका छन्।
मानवीय क्षतितर्फ जङ्गली जनावरको आक्रमणबाट सबैभन्दा बढी ६ जना, आगलागीमा दुई जना, चट्याङ लागेर दुई जना र हुरीबतासमा परी एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
यो विपद्ले जिल्लाको पशुपालन क्षेत्रमा पनि ठूलो धक्का पुर्याएको छ, जसका कारण वर्षभरिमा कुल ८ हजार ९ सय १४ वटा चौपाया तथा पशुपन्छी मरेका छन्। यसमा आगलागीबाट ५ हजार ६ सय ६२ र हुरीबतासबाट ३ हजार २० पशुपन्छी हताहत भएका हुन्। कुल आर्थिक क्षतिमध्ये आगलागीबाट मात्रै १५ करोड २२ लाख रुपैयाँभन्दा बढी र बाढी तथा डुबानबाट ६ करोड ३४ लाख रुपैयाँ बराबरको नोक्सानी भएको सूचना अधिकारी अवाले जानकारी दिएका छन्।
