Spread the love
Spread the love
कुलमानको घोषणा: ३ महिनामा ३ लाख सदस्य!
Spread the love

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख नयाँ सदस्य थप्ने महत्त्वाकाङ्क्षी लक्ष्यसहित सङ्गठन विस्तार अभियानलाई तीव्र पार्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

​उज्यालो नेपाल पार्टी खाँडादेवी–काठमाडौं सम्पर्क मञ्चको प्रथम भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले अब पार्टी आधुनिक र प्रविधिमैत्री बन्ने बताए। उनले डिजिटल माध्यमबाट सदस्यता वितरण गरिनुका साथै नेता-कार्यकर्ताहरू गाउँ–गाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने नयाँ अभियान सञ्चालन गरिने जानकारी दिए।​

"देशभर आगामी तीन महिनामा तीन लाख सदस्यता वितरण गर्ने लक्ष्य लिएका छौँ। यसका लागि डिजिटल सदस्यता वितरण र गाउँ–गाउँमा पुगेर जनतासँग संवाद गर्ने रणनीति तय गरिएको छ।

यो अभियानले उज्यालो नेपाल पार्टीलाई आम जनताको घरदैलोसम्म पुर्‍याउन ठूलो सहयोग गर्नेछ। तसर्थ, आगामी तीन महिनाभित्र व्यापक रूपमा सदस्यता वितरण र सङ्गठन निर्माणमा केन्द्रित हुन म सम्पूर्ण साथीहरूलाई आग्रह गर्दछु।"​

सङ्गठन विस्तारको कुरा गरिरहँदा अध्यक्ष घिसिङले वर्तमान राजनीतिक अवस्था र सरकारको कार्यशैलीप्रति भने गम्भीर चिन्ता व्यक्त गरे।

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमले देश पुनः द्वन्द्वतर्फ उन्मुख हुन सक्ने आशंका गर्दै उनले वर्तमान सरकार र संसद्‌मा रहेका सम्पूर्ण राजनीतिक दलहरूलाई जिम्मेवार बन्न आग्रह गरे।

देशलाई सम्भावित दुर्घटना र द्वन्द्वबाट जोगाउन सबै शक्तिहरूले गम्भीरताका साथ साझा प्रयास गर्नुपर्नेमा उनले विशेष जोड दिए।