Spread the love
Spread the love
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन गृह मन्त्रालयको नयाँ कदम
Spread the love

गृह मन्त्रालयले विपद् सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धार कार्यलाई थप द्रुत, सहज र प्रभावकारी बनाउन विपद् हटलाइन नम्बर १२३४ लाई जिल्लास्तरसम्म विस्तार गरी २४सै घण्टा सञ्चालनमा ल्याएको छ।

मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, यसअघि केन्द्रबाट मात्रै व्यवस्थापन हुँदै आएको टोल–फ्री नम्बर ११४९ लाई परिमार्जन गरी नयाँ नम्बर १२३४ कार्यान्वयनमा ल्याइएको हो। नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाबाट १२३४ मा फोन गर्दा सिधै सिंहदरबारस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रमा जडान हुनेछ भने अन्य ७४ जिल्लाबाट गरिएको फोन सम्बन्धित जिल्लाकै जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा स्वतः ‘राउटिङ’ हुने व्यवस्था मिलाइएको छ।
​मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकले शासकीय सुधार कार्यसूचीअनुसार नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्दै नागरिक सेवालाई परिणाममुखी, जवाफदेही र प्रभावकारी बनाउने नीति लिएको थियो। सोही नीतिअनुरूप गृह मन्त्रालयले देशका सबै ७७ वटै जिल्लाका आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूलाई २४सै घण्टा सञ्चालन गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो। अब नागरिकले विपद्सम्बन्धी सूचना, समस्या, गुनासा तथा सुझावका लागि आफ्नै जिल्लाको आपत्कालीन केन्द्रसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने भएकाले उद्धार, समन्वय र सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ। मन्त्रालयले विपद्को समयमा नेपाल सरकारबाट जारी हुने आधिकारिक सूचना तथा पूर्वसूचनाको पालना गर्न र आवश्यक परेको खण्डमा तुरुन्तै १२३४ नम्बरमा सम्पर्क गर्न नागरिकलाई आग्रह गरेको छ।