उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभलबीच बिहीबार उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ।
उक्त अवसरमा दुई देशबीचको बहुआयामिक सम्बन्ध र पारस्परिक हितका विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।
भेटका क्रममा उपराष्ट्रपति यादवले सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र फ्रान्सबीचको सम्बन्ध पारस्परिक सम्मान, सहयोग र सौहार्दपूर्ण मित्रतामा आधारित रहेको उल्लेख गरे।
फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यहरू ‘स्वतन्त्रता, समानता र भ्रातृत्व’ ले नेपालको राजनीतिक आन्दोलन तथा संघर्षहरूलाई समेत सधैँ प्रेरित गर्दै आएको उनको भनाइ थियो।
"नेपाल र फ्रान्सबीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुँदै जानेछ।" - उपराष्ट्रपति रामसहायप्रसाद यादवयुरोपेली संघ (ईयू) मार्फत फ्रान्सले नेपालको विकासमा पुर्याउँदै आएको सहयोगप्रति उपराष्ट्रपति यादवले धन्यवाद प्रकट गरे।
साथै, फ्रान्सको आसन्न राष्ट्रिय दिवसको अवसर पारेर उनले राजदूत कोर्टेभलमार्फत फ्रान्सेली राष्ट्रपति इम्मानुयल म्याक्रोन तथा त्यहाँका जनताको सुख, शान्ति र समृद्धिको कामना समेत गरे।
जवाफमा राजदूत भर्जिनी कोर्टेभलले आफ्नो कार्यकालमा नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन आफू लागिपरेको बताइन्। नेपालप्रति आफ्नो विशेष सामीप्यता रहेको उल्लेख गर्दै उनले भनिन्, “नेपाल मेरो हृदयमा रहेको मुलुक हो।”
