Spread the love
Spread the love
इरानद्वारा हर्मुज स्ट्रेटमा जहाजमाथि ड्रोन आक्रमण, युद्धविराम उल्लंघन भएको ट्रम्पको दाबी
Spread the love

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले स्ट्रेट अफ हर्मुजमा एक व्यावसायिक जहाजमा ड्रोन आक्रमण गरेको आरोप लगाएका छन्। शुक्रवार आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मा लेख्दै उनले बिहीबार इरानले उक्त क्षेत्र पार गरिरहेको जहाजलाई निसाना बनाएको दाबी गरेका हुन्।​

ट्रम्पका अनुसार इरानले जहाजमाथि कम्तीमा चारवटा ड्रोन प्रहार गरेको थियो। "तीमध्ये एउटा ड्रोन सिधै एउठा ठुलो र महँगो मालवाहक जहाजको माथिल्लो भागमा ठोक्कियो," ट्रम्पले लेखेका छन्, "आक्रमणबाट जहाजमा क्षति पुगे पनि यसले आफ्नो यात्रा जारी राख्न सफल भयो। बाँकी तीनवटा ड्रोन हामीले खसाल्यौँ। यो स्पष्ट रूपमा हाम्रो युद्धविराम सम्झौताको मूर्खतापूर्ण उल्लंघन हो।"​

बेलायतको समुद्री सुरक्षा एजेन्सी (UKMTO) का अनुसार ओमानको दहित बन्दरगाहबाट करिब ७.५ समुद्री माइल दक्षिण-पूर्वमा बिहीबार एक अज्ञात प्रक्षेपणले मालवाहक जहाजमा प्रहार गरेको थियो।

घटनामा कुनै मानवीय क्षति भने भएको छैन।​यस्तै, समुद्री सुरक्षा कम्पनी 'भ्यानगार्ड'ले आक्रमणमा परेको जहाज सिङ्गापुरको झन्डा संवाहक ‘एभर लभ्ली’ भएको पुष्टि गरेको छ।

आक्रमणका बाबजुद जहाज सुरक्षित रूपमा स्ट्रेट अफ हर्मुज पार गर्न सफल भएको र उसलाई कुनै थप बाह्य सहयोगको आवश्यकता नपरेको बताइएको छ।​अमेरिका, इजरायल र इरानबिच जारी तनावका कारण गत फेब्रुअरीदेखि खाडी क्षेत्रमा सयौँ जहाज र हजारौँ नाविकहरू अलपत्र पर्दै आएका छन्। संयुक्त राष्ट्रसङ्घले हर्मुज स्ट्रेट पुनः खुलेपछि गत मङ्गलवारदेखि उद्धार कार्य सुरु गर्ने घोषणा गरे पनि बिहीबारको यो ताजा आक्रमणपछि उक्त प्रक्रिया फेरि स्थगित भएको छ।