Spread the love
Spread the love
​९ खर्ब ३७ अर्बको अर्थतन्त्रतर्फ लुम्बिनी
Spread the love

चालु आर्थिक वर्षको पहिलो ११ महिना (गत २५ जेठ) सम्ममा लुम्बिनी प्रदेशको आन्तरिक राजस्व सङ्कलनमा १२ प्रतिशतले सुधार भई ५ अर्ब १४ करोड ४ लाख रुपैयाँ पुगेको छ। यसै अवधिमा सङ्घीय अनुदान, राजस्व बाँडफाँट र आन्तरिक स्रोत समेटिने प्रदेश सञ्चित कोषमा २६ अर्ब ५७ करोड ७७ लाख रुपैयाँ जम्मा भएको छ। कुल विनियोजित बजेटमध्ये हालसम्म १७ अर्ब ४७ करोड ८२ लाख रुपैयाँ (४४.८५ प्रतिशत) खर्च भएको छ, जसमा पुँजीगततर्फ १० अर्ब ११ करोड ९ लाख र चालुतर्फ ७ अर्ब ३६ करोड ७३ लाख रुपैयाँ रहेको छ।​भौतिक पूर्वाधारतर्फ प्रदेश गौरवको आयोजनाको रूपमा रहेको प्रदेश राजधानी व्यवस्थापन तथा निर्माणको पहिलो चरण सफल भएको छ। यस आयोजनाले शतप्रतिशत भौतिक र ९५.५८ प्रतिशत वित्तीय प्रगति हासिल गर्दै गत २१ वैशाखदेखि नयाँ प्रशासनिक भवनबाट सेवा समेत सुरु गरिसकेको छ। यस्तै, स्थानीय तहलाई वित्तीय हस्तान्तरण गरिएको १ अर्ब ९३ करोड २३ लाख रुपैयाँमध्ये ५६.४२ प्रतिशत रकम खर्च भइसकेको छ।​यस वर्ष प्रदेशको कुल गार्हस्थ्य उत्पादन ९ खर्ब ३७ अर्ब रुपैयाँ पुग्ने र राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान १४.२ प्रतिशत रहने अनुमान छ। तर, कृषि, यातायात, सञ्चार र व्यापार क्षेत्रको सुस्त विस्तारका कारण आर्थिक वृद्धिदर भने अघिल्लो वर्षको ४.२७ प्रतिशतबाट खस्केर २.८७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ। सकारात्मक पक्षतर्फ, प्रदेशमा विद्युत् पहुँच ९८.६ प्रतिशत र इन्टरनेट सेवा करिब ८० प्रतिशत घरधुरीमा विस्तार भइसकेको छ।