बिबिसी मास्टरसेफका प्रतिस्पर्धी सन्तोष साहले आफ्नो पक्राउ प्रकरणबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका विवरणहरू तथ्यहीन रहेको बताएका छन्। काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जाने हदम्याद बाँकी छँदै आफूलाई नियन्त्रणमा लिइएको भन्दै उनले कानुनी प्रक्रियामाथि प्रश्न उठाए। अघिल्लो महिना आफैं प्रहरी परिसर पुग्दा पक्राउ नगरिएको तर पछि जनकपुरबाट नियन्त्रणमा लिइनु शंकास्पद रहेको उनको दाबी छ।साहले सिला रेष्टुरेन्ट खरिद र मिथिला थाली–आर्जव होल्डिङ्सबीचको २ करोड २५ लाख रुपैयाँको सम्झौतामा कुनै ठगी नभएको स्पष्ट पारे। मिडियामा दाबी गरिए जस्तो करोडौं नभई वास्तविक विवाद मात्र ४ लाख ५० हजार रुपैयाँको चेकको विषयमा रहेको उनले बताए। चर्चामा आएको २५ लाख रुपैयाँ बक्यौताको खण्डन गर्दै उनले नबिल, लक्ष्मी सनराइज र नेपाल बैंकमार्फत चरणबद्ध रूपमा कुल २८ लाख २५ हजार रुपैयाँ बैंकिङ प्रणालीबाट भुक्तानी भइसकेको विवरण सार्वजनिक गरे।
