Spread the love
Spread the love
परराष्ट्रमन्त्री खनालको भारत भ्रमण: द्विपक्षीय हित र डिजिटल साझेदारीमा जोड
Spread the love

परराष्ट्रमन्त्री शिशिर खनालले हालै सम्पन्न आफ्नो तीन दिने (जेठ २२-२४) औपचारिक भारत भ्रमणका क्रममा दुई देशबीचको कूटनीतिक र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउन ठोस छलफल भएको जानकारी दिएका छन्।

राष्ट्रियसभाको बैठकमा भ्रमणबारे जानकारी गराउँदै उनले भारतीय समकक्षी एस. जयशङ्कर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता भएको बताए। उक्त अवसरमा नेपाल-भारतबीच व्यापार, आर्थिक सहकार्य, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, साझा सुरक्षा चासो र सीमा व्यवस्थापनका विविध आयामहरूमा गहन विचार आदानप्रदान हुनुका साथै द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।​

यस भ्रमणका क्रममा सीमापार डिजिटल र वित्तीय 'कनेक्टिभिटी' बढाउने महत्त्वपूर्ण सम्झौताहरू समेत भएका छन्। जसअन्तर्गत अन्तरदेशीय वित्तीय भुक्तानी (Payment-to-Payment) सेवा सञ्चालन, भूकम्पपछिका पुनर्निर्माण परियोजनाको हस्तान्तरण, र 'भ्वाइस फस्ट' भाषा अनुवाद प्लेटफर्मको विकासका लागि काठमाडौं विश्वविद्यालय र डिजिटल इण्डिया भाषिनी डिभिजनबीच समझदारीपत्र आदानप्रदान भएको छ।

मन्त्री खनालले यो भ्रमणले नेपालको स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिलाई सशक्त रूपमा प्रस्तुत गर्नुका साथै आगामी दिनमा आपसी हितका क्षेत्रमा परिणाममुखी सहकार्य अघि बढाउन बलियो आधार तयार पारेको उल्लेख गरे।