नेपालबाट अवैध रूपमा भारततर्फ तस्करी गर्न लागिएको ठूलो परिमाणमा फर्सीको बिउ प्रहरीले बरामद गरेको छ। बुधबार बेलुका रौतहट बौधीमाई नगरपालिका-७ बंकुल टोलस्थित नेपाल-भारत सीमा क्षेत्रबाट उक्त बिउ बरामद गरिएको हो।
पर्सा प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) वसन्त गौतमका अनुसार गैरकानुनी रूपमा बिउ भारत निकासी हुन लागेको विशेष सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो।
सुरक्षाकर्मीको टोलीले सीमा क्षेत्रमा लुकाएर राखिएको अवस्थामा १२ हजार ८८० किलो फर्सीको बिउ फेला पारेको हो। बरामद गरिएको उक्त बिउको बजार तथा भन्सार मूल्यांकन ९० लाख १६ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
