Spread the love
Spread the love
फिलिपिन्समा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प: १५ जनाको मृत्यु, सुनामीको उच्च सतर्कता
Spread the love

​फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्डानाओमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १२९ जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार दक्षिण कोटाबातो, सुल्तान कुदारत, साराङ्गानी र जनरल सान्तोस सिटीसहित सोक्सस्कार्गेन क्षेत्रमा मात्रै १२ जनाको मृत्यु भएको छ भने बाँकीको अन्य प्रभावित क्षेत्रमा ज्यान गएको हो।

घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर रहेको र भूकम्पका कारण धेरै स्थानमा घर, भवन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको आशङ्का गरिएको छ।​भूकम्पलगत्तै प्रभावित क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरी राहत तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। फिलिपिन्स सरकारको समाज कल्याण तथा विकास विभाग (डिएसडब्लुडी) ले मिन्डानाओमा ११ लाखभन्दा बढी र देशभर करिब ४७ लाख पारिवारिक फूड प्याक आपतकालीन प्रयोगका लागि तयारी अवस्थामा राखेर वितरण सुरु गरिसकेको छ।

स्थानीय प्रशासनसँगको समन्वयमा उद्धार टोली र सामाजिक कार्यकर्ताहरू निकासी केन्द्रहरूमा परिचालन गरिएका छन् भने फिलिपिन्स राष्ट्रिय प्रहरी लगायतका सुरक्षा निकायहरूलाई सम्भावित परकम्प र थप जोखिमको निगरानीका लागि पूर्ण तयारी अवस्थामा राखिएको छ।​

यसैबीच, राष्ट्रपति फर्डिनान्ड मार्कोसले नागरिक रक्षा कार्यालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्लाई तत्काल सक्रिय बनाउँदै नौ प्रान्तका तटीय क्षेत्रका बासिन्दालाई उच्च स्थानतर्फ सर्न निर्देशन दिएका छन्। भूकम्पपछि जापान, फिलिपिन्स र इन्डोनेसियाका तटीय क्षेत्रमा सुनामीको खतरा देखिएकाले उच्च सतर्कता अपनाउनुका साथै इन्डोनेसियाका विभिन्न टापुहरूमा समेत निकासी आदेश जारी गरिएको छ।

अमेरिकी प्यासिफिक सुनामी वार्निङ सेन्टरले फिलिपिन्सको तटीय क्षेत्रमा तीन मिटर र इन्डोनेसिया तथा मलेसियाका केही भागमा एक मिटरसम्म सुनामी आउन सक्ने सम्भावना औंल्याएपछि क्षेत्रीय स्तरमा उच्च सतर्कताका साथ उद्धार कार्य जारी राखिएको छ।