Spread the love
Spread the love
ट्राफिक नियम र मोबाइल नष्ट गरिएको घटनाप्रति सांसद हर्क साम्पाङको आपत्ति​
Spread the love

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सांसद हर्क साम्पाङले सडकमा हुने सवारी दुर्घटनाको मुख्य कारण चालकको बानीभन्दा पनि सडकको दयनीय अवस्था र खाल्डाखुल्डी रहेको दाबी गरेका छन्। सोमबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पछिल्लो समय आफूलाई लक्षित गरी भएका ट्राफिक कारबाहीका कुरा र सामाजिक सञ्जालका टीकाटिप्पणीप्रति यस्तो प्रतिक्रिया दिएका हुन्।

केही दिनअघि एक हातले मोटरसाइकल चलाएको भिडियो सार्वजनिक भएपछि ट्राफिक प्रहरीले उनलाई नियम उल्लंघनको आरोपमा जरिवाना गर्ने तयारी गरेको थियो।​सोही विषयमा स्पष्टीकरण दिँदै सांसद साम्पाङले सरकारले नपुरेका खाल्डाखुल्डीका कारण दुर्घटना हुने जिकिर गर्दै आफू दुवै हात छोडेर पनि सन्तुलन मिलाएर बाइक चलाउन सक्ने दाबी गरे।

उनले ट्राफिक नियमको कुन दफा वा नियमावलीमा एक हातले सवारी चलाउनु कसुर हो भनी प्रश्न समेत गरे। साथै, हेलमेटको फित्ता नलगाएको भन्ने आलोचनाको खण्डन गर्दै उनले त्यो पुरानो भएकाले मात्र खुकुलो देखिएको प्रष्टीकरण दिए।​

सञ्चारकर्मीसँगको कुराकानीकै क्रममा सांसद साम्पाङले सार्वजनिक सम्पत्ति र व्यक्तिगत सामग्रीको सुरक्षाका विषयमा पनि चासो व्यक्त गरे। विशेषगरी विद्यार्थीहरूको मोबाइल नियन्त्रणमा लिएर नष्ट गरिएको घटनाप्रति टिप्पणी गर्दै उनले आलु समेत नष्ट गर्न नहुने अवस्थामा मोबाइल जस्तो महत्त्वपूर्ण वस्तु नष्ट गर्नु पूर्णतः गलत भएको बताए। आफ्ना गतिविधिहरू सामाजिक सञ्जालमा भाइरल भइरहने सन्दर्भमा उनले आफू सधैँ श्रम र संस्कृतिको पक्षमा उभिने प्रतिबद्धता जनाए।