विश्वकप फुटबलको रौनक नजिकिँदै गर्दा काठमाडौँको पेप्सीकोलामा त्यसकै झल्को दिने गरी ‘फाइभ ए साइड ओपन फुटसल प्रतियोगिता’ सुरु भएको छ। सामाजिक सञ्जाल प्लेटफर्म रुटिन अफ नेपाल बन्दले आयोजना गरेको यस प्रतियोगितालाई फिफा विश्वकपकै नेपाली संस्करणका रूपमा सञ्चालन गरिएको छ।
प्रतियोगितामा सहभागी ४८ टोलीले ब्राजिल, अर्जेन्टिना, फ्रान्स र स्पेन जस्ता विश्वकप खेल्ने चर्चित देशहरूको नामबाट फिफाकै ढाँचामा समूह चरणदेखि नकआउटसम्म प्रतिस्पर्धा गरिरहेका छन्।विश्वकपको माहोलसँगै चोक, चियापसल र जर्सी पसलहरूमा फुटबलको चर्चा चुलिएको बेला यो प्रतियोगिताले खेलप्रेमीहरूको उत्साहलाई थप उचाइ दिएको छ।
बिहीबारदेखि शनिबारसम्म चल्ने यस प्रतियोगिताको विजेता टोलीले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतिटोली २० हजार रुपैयाँ प्रवेश शुल्क राखिएको यस स्पर्धाले फुटबल प्रेमीहरूलाई विश्वकपको वास्तविक अनुभूति गराउनुका साथै स्थानीय स्तरमा खेल संस्कृतिको प्रवर्द्धन गर्ने आयोजकको विश्वास छ।
