नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रले दिलाएका ऐतिहासिक उपलब्धीहरूको संस्थागत संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। गणतन्त्र दिवसको विशेष अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले व्यक्तिको इच्छा र सनकका भरमा चल्ने प्रणालीको अन्त्य भई लोकतान्त्रिक अङ्ग र संरचनामार्फत राज्य सञ्चालन हुने पद्धतिको सुरुवात हुनु नै गणतन्त्रको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्।
अध्यक्ष ओलीले गाउँगाउँमा स्थानीय सरकारको बलियो उपस्थिति हुनु, राज्यका साधन र स्रोतमा आम नागरिकको पहुँच विस्तार हुनुका साथै महिला, दलित, जनजाति, मधेशी तथा पिछडिएका समुदायको प्रतिनिधित्वमा उल्लेख्य वृद्धि हुनुलाई गणतन्त्रको सुखद परिणामका रूपमा चित्रण गरेका छन्।
यसका साथै नागरिक स्वतन्त्रता, खुला अभिव्यक्ति, सेवामा डिजिटल पहुँच र सडक–सञ्चारको तीव्र विकासले सर्वसाधारणको जीवन सहज बनाएको उनको भनाइ छ।जनताले आफ्ना लागि आफैंले शासनप्रणाली निर्धारण गर्ने यो गणतान्त्रिक अधिकार प्राप्त गर्न नेपाली समाजले सात दशकभन्दा लामो कडा सङ्घर्ष गर्नुपरेको स्मरण गर्दै उनले इतिहासको गौरवपूर्ण पक्षलाई उजागर गरेका छन्।
विशेषगरी बोल्ने, लेख्ने, सङ्गठित हुने तथा राजनीतिक विचार राख्ने आधारभूत अधिकार प्राप्तिका क्रममा हजारौँ अग्रज योद्धाहरूले आफ्नो जीवन बलिदान गर्नुपरेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष ओलीले परिवर्तनका लागि लामो जेलनेल, कठोर यातना र निर्वासन भोगेका सबै अग्रजहरूप्रति उच्च सम्मान र आभार प्रकट गरेका छन्।
