रौतहटमा सोमबार साँझ आएको विनाशकारी हुरीले भत्केको घरले थिचिँदा एक महिलाको ज्यान गएको छ। रौतहटको वृन्दावन नगरपालिका–७ धमौराटोलका ३५ वर्षीया फूलकुमारी देवीको हुरीले भत्केको घरले थिचिँदा मृत्यु भएको हो।
फूलकुमारीको उपचारको क्रममा राति रौतहटको गरुडास्थित बेटर नेपाल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी रोहितकुमार शर्मा बढईले जानकारी दिए। हुरीले रायको घरको टायलको छानो र बाँसको बार भएको एकतले कच्ची घर भत्किँदा फूलकुमारीको मृत्यु भएको हो।
मृतकको शवलाई आवश्यक कानुनी प्रक्रिया र पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ।सोमबार साँझ आएको तीव्र गतिको हावाहुरीका कारण वृन्दावन नगरपालिकालगायत जिल्लाका अन्य विभिन्न स्थानीय तहमा पनि ठूलो भौतिक क्षति पुगेको छ। हुरीले ग्रामीण क्षेत्रका दर्जनौँ कच्ची घर तथा गोठका फुस र जस्तापाताका छानाहरू उडाएको छ भने धेरै ठाउँमा रुख र विद्युतका पोलहरू ढल्दा यातायात तथा सञ्चार सेवा अवरुद्ध हुन पुगेको छ।
कतिपय स्थानमा विद्युतका तार चुँडिएका कारण सोमबार रातिदेखि नै जिल्लाका धेरैजसो ग्रामीण भेगहरू अन्धकारमय बनेका छन्। यसका साथै पाक्ने बेला भएको मकै बाली र रुखमा फल्दै गरेका आँप हावाहुरीले निकै नष्ट गरेपछि स्थानीय किसानहरू मर्कामा परेका छन्।घटनालगत्तै स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले प्रभावित क्षेत्रमा उद्धार तथा अवरुद्ध सडक खुलाउने कार्य सुरु गरेका थिए।
मौसममा बारम्बार आउने यस्ता आकस्मिक परिवर्तन र हावाहुरीका कारण थप मानवीय क्षति हुन नदिन जिल्ला प्रशासन तथा सुरक्षा निकायले स्थानीय सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। प्रहरीले विशेष गरी हावाहुरी र चट्याङ परेको समयमा बलियो पक्की भवनमा ओत लाग्न र पुराना वा कच्ची संरचना नजिक नबस्न अपिल गरेको छ।
