काठमाडौँ । कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेका अधिकांश नेताहरू सहकारी ठगीमा संलग्न रहेकाले संसदीय छानबिन समिति गठन हुन नसकेको बताएका छन्।
विराटनगरमा नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ केन्द्रीय परिषद् भेलालाई सम्बोधन गर्दै नेता महरले एमाले र रास्वपाका अधिकांश नेता सहकारी ठगी प्रकरणमा मुछिएको र मन्त्रिपरिषद्मा पनि विवादित व्यक्तिहरू रहेकाले वर्तमान सरकारबाट सुशासनको अपेक्षा गर्न नसकिने बताए।
हामीले सडकदेखि सदनसम्म सहकारीमा जम्मा गरेको जनताको रकम दुरुपयोग गर्नेहरूमाथि छानबिनका लागि आवाज उठाइरहेका छौँ । विवादित व्यक्ति यतिबेला मन्त्रिमण्डलमा छन्। तर, सरकार अटेरी गरिरहेको छ। किनकि सरकारमा प्रधानमन्त्री भन्दा बलिया अपराधिक मानसिकता भएका व्यक्तिहरू छन्। उनीहरूले प्रधानमन्त्रीलाई विभिन्न दवाव र प्रभावमा पारिरहेका छन्,’ महरले भने।
पार्टी जन्मिने वित्तिकै रास्वपालगायत नयाँ दलमा आवद्ध नेताहरूका एकपछि अर्को आपराधिक कुकर्म सार्वजनिक भइरहेका छन्। अब जनताले प्रस्टरूपमा बुझिसक्नुभएको छ। त्यसैले उहाँहरूले धेरै ठूला कुरा नगर्दा हुन्छ,’ महरले भने।