पोखराको अमरसिंह चोकस्थित अमरसिंह माध्यमिक विद्यालयको जग्गामा रहेका ५२ वटै व्यावसायिक टहराहरू हटाइएका छन्। गत वैशाख २९ गते भएको सर्वपक्षीय सहमति अनुसार व्यवसायीहरूले जेठ ४ गतेभित्र आफैँ टहरा हटाउने र जेठ ५ गते महानगरपालिकाले डोजर प्रयोग गर्ने निर्णय बमोजिम यी संरचनाहरू हटाइएका हुन्।
विसं २०३८ देखि सो स्थानमा टहरा बनाएर व्यवसाय सञ्चालन गर्न थालिएको थियो।विद्यालयको नाममा रहेको उक्त जग्गा विद्यालय आफैँले भाडामा लगाएपछि व्यवसायीहरूले टहरा निर्माण गरी विभिन्न व्यवसाय गर्दै आएका थिए। पोखरा महानगरपालिका–१२ का अध्यक्ष सन्तोष बाँस्तोलाका अनुसार यी टहराहरू व्यवस्थापन गर्ने कार्यमा महानगर प्रमुख, विद्यालयका प्रधानाध्यापक, निवर्तमान विद्यालय व्यवस्थापन समिति, व्यवसायी तथा सञ्चारकर्मी सबैको पूर्ण साथ र सहयोग रहेको थियो।
टहरा हटाएर खाली गराइएको उक्त स्थानलाई आगामी दिनमा कसरी उपयोग गर्ने भन्ने विषयमा अहिलेसम्म ठोस निर्णय भइसकेको छैन। यस सम्बन्धमा विद्यालयका पूर्वप्रधानाध्यापक, पूर्वव्यवस्थापन समितिका अध्यक्ष र पोखरा महानगरपालिका शिक्षा महाशाखालगायत सम्बद्ध सबै पक्षलाई सहभागी गराई छलफल गरेर उपयुक्त निष्कर्षमा पुग्ने योजना बनाइएको छ।
