Spread the love
Spread the love
काठमाडौँ र हेटौँडामा सिएमसीका दुई नयाँ अस्पताल
Spread the love

चितवन मेडिकल कलेज (सिएमसी) ले आफ्नो सेवा विस्तार गर्दै काठमाडौँको तीनकुने र हेटौँडामा अतिविशिष्टकृत अस्पतालहरू सञ्चालन गर्ने भएको छ। काठमाडौँमा १७ रोपनी जमिनमा १२ अर्बभन्दा बढीको लगानीमा ३०० शय्याको अत्याधुनिक अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ, जसको व्यवस्थापन भारतको मेदान्त अस्पतालले गर्नेछ। आगामी दशैँको घटस्थापनादेखि सञ्चालनमा आउने यो अस्पताल नेपाली निजी क्षेत्रकै सबैभन्दा ठूलो हुने दाबी गरिएको छ, जहाँ क्यान्सरसहितका जटिल रोगहरूको उपचार विश्वस्तरीय प्रविधिबाट गरिनेछ।

यसैगरी, बागमती प्रदेशको राजधानी हेटौँडामा पनि एक सय शय्याको अतिविशिष्टकृत अस्पताल निर्माणका लागि शिलान्यास गरिएको छ। हेटौँडा उपमहानगरपालिका–४ मा १९ कट्ठा जमिनमा करिब २ अर्ब ५० करोडको लगानीमा निर्माण हुन लागेको यो अस्पताल विसं २०८४ को दशैँदेखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। सिएमसीको नेतृत्वमा स्थानीय साझेदारहरूको समेत सहभागिता रहने यस परियोजनाले मकवानपुर र आसपासका बासिन्दालाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्नुका साथै स्थानीय स्तरमा रोजगारीसमेत सिर्जना गर्नेछ|

विगत २० वर्षदेखि भरतपुरमा ७०० शय्याको अस्पतालमार्फत सेवा दिँदै आएको सिएमसीले स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मार्दै यी नयाँ अस्पतालहरू स्थापना गर्न लागेको हो। यी अस्पतालहरूको मुख्य उद्देश्य नेपाली बिरामीहरूलाई उपचारका लागि भारत वा अन्य वैदेशिक मुलुक जान नपर्ने वातावरण मिलाउनु रहेको अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिश्चन्द्र न्यौपानेले बताउनुभएको छ।

त्रिभुवन विश्वविद्यालयका स्वास्थ्य शैक्षिक कार्यक्रमसमेत सञ्चालन गरिरहेको सिएमसीले अब काठमाडौँ र हेटौँडाबाट पनि अनुभवी विशेषज्ञ चिकित्सकहरूमार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेछ।