हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र पूर्वी भू-भाग नजिक रहेको न्यूनचापीय क्षेत्रको संयुक्त प्रभाव रहेको छ। यसका कारण अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदली रहेको छ भने बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी र मधेश प्रदेशसहित देशका पहाडी भू-भागमा सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी लगायत अन्य पहाडी क्षेत्रका केही स्थान र मधेश प्रदेशका थोरै ठाउँमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ। साथै, तराईका एक-दुई स्थानमा हल्का वर्षा हुनुका साथै उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने देखिन्छ।आज राति पनि पहाडी भू-भागमा बदली कायमै रहने पूर्वानुमान छ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने मधेश प्रदेश र अन्य हिमाली क्षेत्रका थोरै स्थानमा पनि हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले उल्लेख गरेको छ।
