Like this:

कच्चा पदार्थ र इन्धनको मूल्यवृद्धि: पानी उद्योग जोगाउन मूल्य समायोजन गरिँदै

नेपाल पानी उद्योग महासंघले कच्चा पदार्थ र इन्धनको मूल्यमा भएको भारी वृद्धिका कारण प्रशोधित पिउने पानीको बजार मूल्य बढाउन सदस्य उद्योगहरूलाई सर्कुलर जारी गरेको छ। महासंघका अनुसार हालको लागतमा उद्योग चलाउन असम्भव भएपछि मूल्य समायोजनको निर्णय लिइएको हो। रुस-इजरायल तनाव र इरान-अमेरिका सम्बन्ध जस्ता अन्तर्राष्ट्रिय घटनाक्रमले ढुवानी र आपूर्ति प्रणालीमा पारेको असरले गर्दा नेपालका पानी उद्योगहरू प्रत्यक्ष मारमा परेका छन्।​विशेष गरी पानीका बोतल, क्याप र र्‍यापिङ रोल जस्ता प्लास्टिकजन्य कच्चा पदार्थको मूल्य करिब ४० प्रतिशतले बढेको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै ढुवानी खर्च समेत आकाशिएकाले उत्पादन लागत अस्वाभाविक रूपमा महँगिएको महासचिव ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभएको छ। यो वृद्धि नाफा कमाउनका लागि नभई उद्योगको अस्तित्व बचाउनका लागि चालिएको एउटा बाध्यात्मक कदम भएको महासंघको दाबी छ।​हाल नेपालभर ६२० भन्दा बढी पानी उद्योगहरूमा १५ अर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको छ, जसले ३० हजारभन्दा बढी मानिसलाई प्रत्यक्ष रोजगारी प्रदान गरेका छन्। महासंघले सरकारसँग कच्चा पदार्थको सहज उपलब्धता र उद्योगमैत्री नीतिका लागि कूटनीतिक पहल गर्न समेत माग गरेको छ। यदि बजार मूल्य समायोजन नभए धेरै साना लगानीका उद्योगहरू बन्द हुने अवस्थामा पुग्ने देखिन्छ, जसले गर्दा बजारमा पिउने पानीको अभाव हुनसक्ने जोखिम समेत बढेको छ।

Like this: