काठमाडौं। पूर्वगृहमन्त्री रमेश लेखकले आफू सिंगापुर भागेको भन्ने समाचार पूर्ण रूपमा गलत भएको बताएका छन्।प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा गृह जिल्ला कञ्चनपुरमा मतदान गरेर काठमाडौं फर्किएका लेखकले सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा फैलाइएको हल्लाप्रति आपत्ति जनाएका हुन्।
नेपाली कांग्रेसका नेता समेत रहेका उनले जेनजी आन्दोलनपछि गठन भएको कार्की आयोगको प्रतिवेदन अझै सार्वजनिक नभएको बताए। प्रतिवेदन सार्वजनिक नहुँदै आफूमाथि फौजदारी कारबाही सिफारिस भएको भन्दै प्रचार गर्नु प्रतिशोधको राजनीति भएको उनको भनाइ छ।
लेखकले सरकारले आयोगको प्रतिवेदन अध्ययन गर्ने बताएको उल्लेख गर्दै तथ्य बाहिर नआउँदै अफवाह फैलाउने काम भएको बताए। साथै उनले आफू कानूनी र राजनीतिक रूपमा यस्तो आरोपको सामना गर्न तयार रहेको पनि स्पष्ट पारे।